लेबुल र प्याकिङ्गका साधनहरु सञ्चित गरेको कक्षभित्र सम्बन्धित व्यक्ति वा सोको उपस्थितिमा मात्र अन्य व्यक्ति पस्न पाइनेछ । प्याकिङ्ग र लेबुल गर्दा हुने गल्तीहरु रोक्न आवश्यक संख्यामा मात्र लेबुल र प्याकिङ्गका साधनहरु सञ्चय कक्षबाट वितरण गर्नु पर्नेछ र सम्बन्धित व्यक्तिले मात्र उक्त साधनहरु चलाउन पाइनेछ । कुनै व्याचको औषधि प्याकिङ्ग वा लेबुल गर्नु अगावै गुणस्तर नियन्त्रकले सो औषधिको प्याकिङ्ग गर्न स्वीकृति दिनु पर्नेछ । प्याकिङ्ग र लेबुलका साधनहरु विशेषज्ञको माग फाराम बमोजिम राम्रोसँग जाँचेर सञ्चय गरेको ठाउँबाट सम्बन्धित व्यक्तिले मात्र झिक्ने गर्नु पर्दछ । माग फाराममा माग गर्ने व्यक्तिको सही, माग गरेको लेबुल र प्याकि· गर्ने साधनको किसिम, परिमाण र मिति प्रष्ट उल्लेख हुनु पर्दछ । प्याकिङ्गको संख्या र माग गरी प्राप्त गरिएको संख्या तुलना गरी बाँकी प्रयोग नगरिएका लेबुल र प्याकिङ्गको संख्या निकाल्नु पर्दछ । प्रयोग गर्न नमिल्ने लेबुल र प्याकिङ्गका साधनहरु आवश्यक व्यवस्था मिलाई नष्ट गर्नेतर्फ कारवाई गर्नु पर्दछ । यदि कुनै लेबुल र प्याकिङ्गका साधनहरु नपुग भएमा जाँचबुझ गर्नु पर्दछ ।
तयारी औषधिमा लगाइने लेबुलमा कम्तीमा निम्न कुराहरु खुलेको हुनु पर्दछः–
(क) औषधिको नाम र परिमाण,
(ख) उत्पादन अनुज्ञापत्र नं.,
(ग) सक्रिय तत्व वा तत्वहरुको सूची (त्यसको परिमाण सहित),
(घ) व्याच नम्बर,
(ङ) औषधि उत्पादन गरेको मिति,
(च) म्याद नाघ्ने मिति (आवश्यक भएको औषधिमा),
(छ) सञ्चयको अवस्था र आवश्यक सावधानीको जानकारी,
(ज) प्रयोग गर्ने तरिका,
(झ) उत्पादनकर्ताको नाम र ठेगाना,
(ञ) औषधिको समूह, र
(ट) देवनागरी लिपिमा औषधिको नाम ।